सुशासन र पूर्वाधारलाई प्राथमिकता दिँदै करैयामाई गाउँपालिकाले ल्यायो ४५ करोड ६८ लाखको बजेट

कोल्हवी न्यूज
२०८३ असार ६, शनिबार १२:२१ गते

कलैया, असार ६ – बाराको करैयामाई गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वन तथा वातावरण संरक्षणलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४५ करोड ६८ लाख ४० हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष शम्भु प्रसाद यादव ले “सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तीकरण करैयामाईको आधार” भन्ने नारासहित आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको पहुँच विस्तार, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माण, युवा तथा खेलकुद विकास र वातावरण संरक्षणलाई मुख्य प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको अनुमानित आयमध्ये संघीय सरकारबाट विभिन्न शीर्षकमा ठूलो हिस्सा प्राप्त हुने अपेक्षा गरिएको छ। संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान गरी उल्लेख्य रकम प्राप्त हुने अनुमान गरिएको छ भने राजस्व बाँडफाँटमार्फत पनि ८ करोड ८२ लाख १४ हजार रुपैयाँ प्राप्त हुने उल्लेख छ।

त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान र सवारी साधन राजस्व बाँडफाँट गरी १ करोड १८ लाख १५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाको आन्तरिक स्रोतबाट १ करोड ३८ लाख २६ हजार रुपैयाँ तथा मालपोत रोयल्टीबाट १ करोड ३५ लाख ७ हजार रुपैयाँ संकलन हुने लक्ष्य राखिएको छ। गत आर्थिक वर्षको मौज्दात ३ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको जनाइएको छ।

गाउँसभामा उपाध्यक्ष सुनैना कुमारी चौधरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, योजना शाखाका प्रमुख बिरेन्द्र महतो, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव ले दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*