देशभरका होटल–रेस्टुरेन्टको विवरण संकलनमा सरकार, खानाको प्रकारदेखि सेवासम्मको जानकारी सार्वजनिक गरिने
नेपाल सरकारले देशभर सञ्चालनमा रहेका साना–ठूला होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा भोजनालयहरूको विस्तृत विवरण संकलन अभियान सुरु गरेको छ। पर्यटक तथा सेवाग्राहीलाई आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित पर्यटन विभागले यो पहल अघि बढाएको हो।
विभागका अनुसार संकलित विवरणलाई सार्वजनिक तथा प्रवर्द्धनात्मक माध्यमबाट प्रसारण गरिनेछ। विशेषगरी नेपाल भ्रमणमा आउने आन्तरिक तथा विदेशी पर्यटकले आफूलाई आवश्यक सेवा र खानाको विकल्प सहजै छनोट गर्न सकून् भन्ने लक्ष्य राखिएको छ।
यस अभियानअन्तर्गत होटल तथा रेस्टुरेन्टहरूले शाकाहारी, भेगन, मांसाहारी वा हलाल खाना उपलब्ध गराउने विषयमा स्पष्ट जानकारी दिनुपर्नेछ। साथै प्रतिष्ठानको नाम, ठेगाना, सम्पर्क नम्बर, सञ्चालन समय, मदिरा उपलब्ध हुने वा नहुने विवरण र वेबसाइट भए त्यसको जानकारी समेत समावेश गर्न सकिनेछ।
पर्यटन विभागले क्यूआर कोडमार्फत विवरण पेश गर्ने व्यवस्था मिलाएको छ र देशभरका होटल व्यवसायीलाई आफ्नो संस्थाको जानकारी अद्यावधिक गर्न आग्रह गरेको छ।
हाल विभागसँग तारे तथा ठूला होटलहरूको तथ्यांक भए पनि स्थानीय तहमा सञ्चालित साना होटल तथा रेस्टुरेन्टहरूको एकीकृत अभिलेख नरहेको बताइएको छ। नयाँ तथ्यांक संकलनपछि देशभरका आतिथ्य सेवा प्रदायक संस्थाको विस्तृत विवरण तयार हुने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।









