मधेस प्रदेशमा कर्मचारीको तलब १०% वृद्धि
असार १ — मधेस प्रदेश सरकारले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले तलब वृद्धिसँगै कार्यसम्पादनका आधारमा थप १० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको जानकारी दिए।
सरकारले प्रशासनिक सेवामा सुधार ल्याउन र सुशासन प्रवर्द्धन गर्न नयाँ व्यवस्था समेत अघि सारेको छ। अब सरकारी निकायबाट सेवा प्रवाहमा ढिलासुस्ती भए नागरिकलाई क्षतिपूर्ति दिने प्रणाली लागू गरिने अर्थमन्त्री भट्टराईले बताए।
त्यसका लागि नागरिक गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन ‘हेल्लो सीएम एप’ र ‘हेल्लो मुख्यमन्त्री टोल फ्री नम्बर’ सञ्चालनमा ल्याइने भएको छ। यसबाट सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता बढ्ने अपेक्षा गरिएको छ।
युवाहरूलाई रोजगारीसँग जोड्ने उद्देश्यले प्रदेश सरकारले १८ देखि ३५ वर्ष उमेर समूहका लागि सय दिने रोजगार ग्यारेन्टी कार्यक्रम ल्याउने तयारी गरेको छ। साथै प्रदेश प्रहरी भर्ना तथा सुरक्षा संयन्त्र सुदृढीकरणका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिए।
सरकारले यी कार्यक्रमहरूलाई सुशासन, रोजगारी सिर्जना र प्रशासनिक सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।









