मधेसका हरेक जिल्लामा मुख्यमन्त्री नमूना विद्यालय स्थापना गरिने

कोल्हवी न्यूज
२०८३ असार १, सोमबार १५:५६ गते

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रदेशका प्रत्येक जिल्लामा कम्तीमा एउटा सामुदायिक विद्यालयलाई ‘मुख्यमन्त्री नमूना विद्यालय’का रूपमा विकास गर्ने घोषणा गरेको छ।

प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले प्रत्येक जिल्लाको एक विद्यालयलाई छनोट गरी आवासीय नमूना विद्यालयको रूपमा स्तरोन्नति गरिने तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गरिने जानकारी दिए।

सरकारले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै आधुनिक शिक्षण पद्धतिमा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ। यसअन्तर्गत विज्ञान, प्रविधि, इन्जिनियरिङ र कला (STEAM) पद्धतिमा आधारित प्रयोगात्मक शिक्षण–सिकाइलाई प्रोत्साहन गरिनेछ।

त्यस्तै विद्यालयहरूमा डिजिटल प्रविधिको प्रयोग बढाउन स्मार्ट बोर्ड जडान तथा आवश्यक शैक्षिक सामग्री व्यवस्थापनका लागि अनुदानको व्यवस्था गरिएको अर्थमन्त्री भट्टराईले बताए।

प्रदेश सरकारले नमूना विद्यालय कार्यक्रममार्फत सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नुका साथै विद्यार्थीलाई आधुनिक र गुणस्तरीय शिक्षाको पहुँच उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। यस कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यालयहरूको शैक्षिक वातावरण सुधार्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*