मधेसमा विपन्न नागरिकको स्वास्थ्य बीमा गरिने, महिलाका लागि स्वरोजगार र सहुलियत ऋण कार्यक्रम घोषणा
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि अति विपन्न तथा सीमान्तकृत समुदायका नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको छ। प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न यो कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका हुन्।
सरकारले स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रमहरू अघि सार्दै आपतकालीन सेवाको प्रभावकारिता बढाउन प्रदेशभर सञ्चालनमा रहेका एम्बुलेन्समा जीपीएस प्रणाली जडान गर्ने योजना पनि सार्वजनिक गरेको छ। यसबाट बिरामीलाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महिला स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै प्रदेशका विभिन्न जिल्लामा स्तन क्यान्सर तथा पाठेघरको आङ खस्ने समस्यासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ। यसले ग्रामीण तथा दुर्गम क्षेत्रका महिलालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास सरकारको छ।
त्यसैगरी, विगतदेखि सञ्चालन हुँदै आएको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमलाई परिमार्जन गरी “शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशील नारी, समृद्ध प्रदेश” अभियानका रूपमा अगाडि बढाइने भएको छ। नयाँ अवधारणाअन्तर्गत महिलाको शिक्षा, सुरक्षा र आर्थिक सशक्तीकरणलाई जोड दिइने जनाइएको छ।
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित प्राविधिक सीप विकासका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था समेत बजेटमा समेटिएको छ। यसका लागि प्रदेश सरकारले ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ।









