कलैयाको सिद्धेश्वर क्रिकेट मैदान स्तरोन्नतिका लागि ३ करोड बजेट

कोल्हवी न्यूज
२०८३ असार १, सोमबार १५:४८ गते

बारा, युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम (रेड बुक) मार्फत बारा जिल्लाको कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

रेड बुकको क्रम संख्या १७९ अन्तर्गत “कलैया क्रिकेट मैदान पूर्वाधार निर्माण, कलैया, बारा” शीर्षकमा ३० हजार (रु हजारमा) अर्थात् ३ करोड रुपैयाँ छुट्याइएको उल्लेख गरिएको छ। बजेट सुनिश्चित भएसँगै लामो समयदेखि व्यवस्थित क्रिकेट मैदानको अपेक्षा गर्दै आएका स्थानीय खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूमा उत्साह थपिएको छ।

स्थानीय खेलकुद क्षेत्रका सरोकारवालाहरूका अनुसार मैदानको स्तरोन्नति भएपछि जिल्लामै क्रिकेटका अभ्यास, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न सहज हुनेछ। साथै प्रदेशस्तरीय तथा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने सम्भावना समेत बढ्ने विश्वास गरिएको छ।

मन्त्रालयले देशभरका विभिन्न खेल पूर्वाधार निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत कलैया क्रिकेट मैदानलाई पनि प्राथमिकतामा राखेको हो। अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने, ठेक्का प्रक्रिया अघि बढाउने तथा निर्माण कार्य सञ्चालन गर्ने चरण सुरु हुने अपेक्षा गरिएको छ।

यसैबीच, बारा जिल्ला क्रिकेट संघले मैदानका लागि बजेट विनियोजन गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै परितोष यादवको विशेष पहल र विनोद दासको निरन्तर प्रयासप्रति धन्यवाद व्यक्त गरेको छ। संघले सरकारको यो निर्णयले जिल्लामा क्रिकेट विकासको नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*