बंगलादेशतर्फ पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु, पाँच महिनामा १ अर्ब ४३ करोड आम्दानी हुने अपेक्षा

कोल्हवी न्यूज
२०८३ असार १, सोमबार १३:०० गते

नेपालले सोमबारदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु गरेको छ। वर्षायाम र उच्च उत्पादन अवधिलाई लक्षित गर्दै आगामी नोभेम्बर १५ सम्म पाँच महिनाका लागि विद्युत् निर्यात गरिने भएको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार त्रिशुली जलविद्युत् आयोजना बाट १८.६० मेगावाट र चिलिमे जलविद्युत् आयोजना बाट २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत् बंगलादेश पठाइँदैछ।

नेपाल र बंगलादेशबीच प्रत्यक्ष विद्युत् प्रसारण संरचना नजोडिएकाले भारतीय प्रसारण लाइनमार्फत बिजुली निर्यात गर्नुपर्ने हुन्छ। त्यसका लागि भारतको स्वीकृति आवश्यक पर्ने भएकाले हाल स्वीकृत परिमाणअनुसार मात्रै विद्युत् व्यापार भइरहेको छ।

बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्न इच्छा देखाए पनि आवश्यक ट्रान्जिट तथा व्यापार अनुमति नपाएकाले यस वर्ष अतिरिक्त निर्यात हुन नसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। स्वीकृति प्राप्त भएमा आगामी दिनमा निर्यात परिमाण ६० मेगावाटसम्म पुग्ने सम्भावना रहेको छ।

गत वर्ष पाँच महिनाको अवधिमा नेपालले करिब १४७ गिगावाट–आवर विद्युत् बंगलादेश निर्यात गरी ९.४३६ मिलियन अमेरिकी डलर आम्दानी गरेको थियो। यस वर्ष डलर विनिमयदर बढेकाले आम्दानीमा थप वृद्धि हुने अनुमान गरिएको छ।

हालको विनिमयदरअनुसार ४० मेगावाट विद्युत् निर्यातबाट मात्रै पाँच महिनामा करिब १ अर्ब ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ। यसले विद्युत् व्यापारलाई नेपालको विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोतका रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*