विस्थापित सुकुम्बासीको सरकारलाई एक साताको चेतावनी, ‘व्यवस्थापन नभए पुरानै ठाउँमा फर्किन्छौं’
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीहरूले पुनर्वास, भूस्वामित्व र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई एक साताको अल्टिमेटम दिएका छन्। माग सम्बोधन नभए आफूहरू घरटहरा भत्काइएका पुरानै स्थानमा फर्किने चेतावनी उनीहरूले दिएका हुन्।
कीर्तिपुर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूले सोमबार प्रधानमन्त्री, गृहमन्त्री तथा अनुगमनमा पुगेका सांसदहरूको नाममा ज्ञापनपत्र बुझाउँदै सम्मानजनक पुनर्वासको माग गरेका छन्।
ज्ञापनपत्रमा सरकारले एक साताभित्र भूस्वामित्वसहित पुनर्वास, उचित क्षतिपूर्ति र आधारभूत जीवनयापनको सुनिश्चितताबारे ठोस निर्णय नगरे थापाथलीलगायत आफूहरू विस्थापित भएका क्षेत्रमा पुनः बसोबास गर्न बाध्य हुने उल्लेख गरिएको छ।
सुकुम्बासीहरूले आफूहरू अपराधी नभई राज्यका नागरिक भएको उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। राज्यले आफ्नो दायित्व पूरा गर्न नसके शान्तिपूर्ण रूपमा पुरानै बस्तीमा फर्किने उनीहरूको भनाइ छ।
उनीहरूले पुनः बसोबासको क्रममा वा त्यसपछि उत्पन्न हुन सक्ने मानवीय, सामाजिक, स्वास्थ्य, सुरक्षा तथा कानुनी जटिलताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार, काठमाडौं महानगरपालिका र सम्बन्धित निकायले लिनुपर्ने चेतावनी पनि दिएका छन्।
सुकुम्बासीहरूले आफ्नो ज्ञापनपत्रलाई न्याय, सम्मान र आवासको अधिकार सुनिश्चित गराउन गरिएको अन्तिम अपिलका रूपमा प्रस्तुत गरेका छन्।









