सातै प्रदेशको बजेट आज सार्वजनिक हुँदै, कृषि, सिंचाइ र रोजगार कार्यक्रम प्राथमिकतामा
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज दिउँसो १ बजे प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। आर्थिक विकास, कृषि उत्पादन वृद्धि, सिंचाइ विस्तार तथा युवालाई रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रम बजेटका प्रमुख प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउने, ग्रामीण सडक सञ्जाल विस्तार गर्ने तथा शिक्षा र स्वास्थ्य सेवाको पहुँच बढाउने लक्ष्यसहित बजेट ल्याउने तयारी गरेको छ। यसअघि प्रदेश सभाबाट पारित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन र कार्यक्रम समेटेर बजेट सार्वजनिक गर्न लागिएको हो।
मधेशका नागरिक तथा सरोकारवालाले यस वर्षको बजेटबाट कृषि, उद्योग, रोजगार तथा पूर्वाधार विकासका क्षेत्रमा ठोस योजना आउने अपेक्षा गरेका छन्। बजेटले प्रदेशको आर्थिक गतिविधि विस्तार गर्न र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिने विश्वास गरिएको छ।









