पहाडी भेगमा वर्षा : तराईमा ‘लु’ को सम्भावना
नेपालको मौसममा यतिबेला तीनवटा मौसमी प्रणालीको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभावका कारण विभिन्न क्षेत्रको मौसममा फेरबदल भइरहेको छ।
अहिले देशका पहाडी तथा हिमाली भू-भागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। बाकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि पानी पर्न सक्नेछ।
कोशी प्रदेशको तराईका थोरै स्थान र मधेश प्रदेशका एक-दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। पहाडी भेगमा वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा रहने र अत्यधिक गर्मी अर्थात् तातो दिन (लु) हुने सम्भावना छ।
आज रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ। तराईतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेश प्रदेशको पनि एक-दुई स्थानमा राति मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमको तराईमा भने राति पनि मौसम सफा नै रहनेछ।









