वाणिज्य बैंकहरूको ब्याजदर फेरि घट्यो, औसत ४.२७ प्रतिशतमा सीमित
वाणिज्य बैंकहरूले आगामी असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बजारमा तरलता बढी रहेको अवस्थाका कारण यस पटक पनि अधिकांश बैंकहरूले ब्याजदर घटाउने नीति लिएका छन्।
सार्वजनिक विवरणअनुसार असार महिनामा २० वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ, जुन जेठ महिनाको ४.३४ प्रतिशतभन्दा कम हो। त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि घटेर ३.१८ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनामा ३.२० प्रतिशत थियो।
यसपटक ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १३ वटा बैंकले जेठ महिनाकै दरलाई यथावत् राखेका छन्। ब्याजदर घटाउने बैंकहरूमध्ये कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ३.९१ प्रतिशत ब्याजदर तोकेको छ। लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकले ४.०० प्रतिशत ब्याजदर कायम गरेका छन्।
त्यसैगरी एनएमबि बैंकले ब्याजदर घटाएर ४.७५ प्रतिशत निर्धारण गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशत ब्याजदर तोकेको छ।
यता, जेठ महिनाकै दरलाई यथावत् राख्ने १३ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा उच्च ४.७५ प्रतिशत ब्याजदर कायम राखेको छ। नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर कायम राखेका छन्।
नेपाल बैंक र नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत तथा सिटिजन्स बैंकले ४.१० प्रतिशत ब्याजदर यथावत् राखेका छन्। एभरेष्ट बैंक र सिद्धार्थ बैंकले भने सबैभन्दा कम ४.०५ प्रतिशत ब्याजदर कायम गरेका छन्।









