सेयर बजार लगातार दोस्रो दिन ओरालो, नेप्से ४ अंकले घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँ

कोल्हवी न्यूज
२०८३ जेष्ठ २९, शुक्रबार १५:४८ गते

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार पनि घटेको छ। अघिल्लो कारोबार दिन ८ अंकले घटेको बजार आज थप ४.०० अंकले ओरालो लाग्दै २७२४ अंकमा कायम भएको हो।

कारोबारको सुरुवाती चरणमा केही समय बजार हरियो देखिए पनि अधिकांश समय बिक्री दबाब हाबी हुँदा नेप्से रातो अंकमै सीमित रह्यो। यद्यपि, कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

आज ९२ कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ। अधिकांश क्षेत्रीय सूचकमा सामान्य उतारचढाव देखिएको छ। निर्जीवन बीमा, अन्य र व्यापार समूहमा क्रमशः ०.३३, ०.१८ र ०.३७ प्रतिशत वृद्धि भएको छ।

यता बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन तथा माइक्रोफाइनान्स समूहका सूचकहरू घटेका छन्। सबै क्षेत्रको उतारचढाव १ प्रतिशतभन्दा कम सीमाभित्र रहेको छ।

आज बजारमा सूचीकृत दुई नयाँ कम्पनीको सेयर मूल्यमा उल्लेखनीय वृद्धि देखियो। सोपान फर्मास्युटिकल्सएपोलो हाइड्रोपावर को सेयर मूल्य १५ प्रतिशतले बढेको छ। वृद्धिपछि सोपानको प्रतिकित्ता मूल्य ५३१.७० रुपैयाँ र एपोलो हाइड्रोपावरको ४५५.६० रुपैयाँ पुगेको छ।

त्यस्तै ग्रिन डेभलपमेन्ट बैंक को सेयर मूल्य १३.३१ प्रतिशत तथा हिमाल दोलखा हाइड्रोपावर को ४ प्रतिशतले वृद्धि भएको छ। विपरीत रूपमा कालिन्चोक हाइड्रोपावर को सेयर मूल्य १०.६६ प्रतिशतले घटेको छ। साथै सप्तकोशी विकास बैंक, झापा इनर्जीघोराही सिमेन्ट को मूल्य पनि उल्लेख्य रूपमा घटेको छ।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, सिटी होटल, आँखुखोला जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर तथा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहे।

लगातार दोस्रो दिनको गिरावटले लगानीकर्ताको मनोबल केही कमजोर देखिए पनि कारोबार रकममा आएको सुधारले बजारमा सक्रियता भने कायम रहेको संकेत गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*