जेठ २८ सम्म सदस्यता अद्यावधिक गर्न कांग्रेसको आग्रह
नेपाली कांग्रेस ले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि थप गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिने निर्णय गरेको हो।
कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिकको काम उत्साहजनक रूपमा अघि बढिरहेको जनाएको छ। तर विभिन्न तहबाट निर्धारित समयमा काम सम्पन्न गर्न कठिनाइ भएको जानकारी आएपछि अन्तिम पटकका लागि म्याद थपिएको जनाइएको छ।
कार्यवाहक मुख्यसचिव दुलालले विभिन्न जिल्लाबाट समय अपुग भएको गुनासो प्राप्त भएकाले समितिको निर्णयअनुसार जेठ २८ गते राति १२ बजेसम्मका लागि समयावधि कायम गरिएको बताए।
कांग्रेसले तोकिएको समयभित्र सम्बन्धित सबै सदस्यलाई आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य अनिवार्य रूपमा सम्पन्न गर्न आग्रह गरेको छ। पार्टीको संगठन सुदृढीकरण तथा आगामी आन्तरिक गतिविधिलाई व्यवस्थित बनाउन सदस्यता अद्यावधिकलाई महत्वका साथ हेरिएको कांग्रेसले जनाएको छ।










