एसीसी महिला प्रिमियर कप आजदेखि, नेपालले पहिलो खेल कतारसँग खेल्ने

कोल्हवी न्यूज
२०८३ जेष्ठ १९, मंगलवार १८:२५ गते

एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि मलेसियामा सुरु हुँदैछ। आगामी महिला टी–२० एसिया कपको छनोटसमेत रहेको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल कतारविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। प्रतियोगितामा १८ टोली सहभागी रहेका छन् र उनीहरूलाई चार समूहमा विभाजन गरिएको छ।

नेपाल समूह ‘डी’मा रहेको छ। यस समूहमा कतार, भुटान र हङकङ पनि छन्। नेपालले दोस्रो खेल जुन ४ मा भुटानसँग तथा समूह चरणको अन्तिम खेल जुन ६ मा हङकङसँग खेल्ने तालिका छ।

प्रतियोगिताको समूह ‘ए’मा बहराइन, जापान, मंगोलिया, म्यानमार र थाइल्यान्ड रहेका छन् भने समूह ‘बी’मा चीन, ओमान, फिलिपिन्स, साउदी अरेबिया र यूएई छन्। समूह ‘सी’मा इन्डोनेसिया, कुवेत, आयोजक मलेसिया र सिंगापुर परेका छन्।

प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। क्वार्टरफाइनलका खेल जुन १०, सेमिफाइनल जुन १२ तथा तेस्रो स्थान र फाइनलका खेल जुन १३ मा हुनेछन्। प्रतियोगिताबाट उत्कृष्ट चार टोली आगामी Women’s Asia Cup का लागि छनोट हुनेछन्।

नेपाल र कतारबीच हालसम्म चार टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् र चारवटै खेलमा नेपाली टोली विजयी भएको छ। यसअघिका नतिजालाई हेर्दा नेपाल आजको खेलमा पनि जितको लक्ष्यसहित मैदान उत्रनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*