वीरगन्जका मेयर राजेशमान सिंह ४ लाख १५ हजार धरौटीमा रिहा गर्न आदेश
बारा, १९ जेठ । दस्तखत किर्ते तथा झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा अदालतमा उपस्थित गराइएका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्।
पर्सा जिल्ला अदालतले मेयर सिंहलाई दस्तखत किर्ते मुद्दामा ४ लाख रुपैयाँ र झुटो विवरणका आधारमा नागरिकता लिएको कसूरमा १५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी लिएर उनलाई तारेखमा छाड्न आदेश दिएको जनाएको छ।
अदालतको आदेशपछि सिंहले तोकिएको धरौटी रकम बुझाएका छन्।
यसअघि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन बनेका सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले मंगलबार बिहान ठोरी क्षेत्रको एक जंगल रिसोर्टबाट नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो।
मेयर सिंहविरुद्ध दर्ता भएका मुद्दाको थप कानुनी प्रक्रिया भने अदालतमा जारी रहने जनाइएको छ।










