टी-२० विश्वकप : पाकिस्तानलई हराउँदै अस्ट्रेलिया उपाधि नजिक

कोल्हवी न्यूज
२०७८ कार्तिक २६, शुक्रबार ०६:५० गते

अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ। बिहीबार राति संयुक्त अरब इमिरेट्सको दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो।

पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभरमा पाँच विकेट गुमाएर जित निकाल्यो। अस्ट्रेलियालाई जित दिलाउन डेविड वार्नरले सर्वाधिक ४९ रन बनाए। उनले ३० बलमा तीन छक्का र तीन चौका हिर्काए। यसैगरी म्याथु वेडले अविजित ४१, मार्कस स्टोइनिक्सले ४० र मिचेल मार्सले २८ रनको योगदान दिए। पाकिस्तानका सदाव खान एक्लैले चार विकेट लिए। यस्तै शाहिन अफ्रिदीले एक विकेट हात पारे।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ७५ रनको योगफल खडा गरेको थियो। पाकिस्तानका लागि मोहमद रिजवान र फाखर जामनले अर्धशतकीय पालि खेलेका थिए। विकेटकिपर ब्याट्सम्यान रिजवानले ५२ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ६७ रन बनाए।

यसैगरी आक्रामक ब्याटिङ गरेका जामनले ५५ रन बनाए। उनले ३२ बलमा चार छक्का र तीन चौका हिर्काए। यस्तै कप्तान बाबर आजमले पनि ३९ रनको महत्वपूर्ण पालि खेले। उनले ३४ बलमा पाँच चौका हिर्काए। यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका आसिफ अलीले खाता खोल्न सकेनन् भने सोयब मल्लिक एक रनमा पेभेलियन फर्किएका थिए। अस्ट्रेलियाका मिचेल स्टार्कले दुई विकेट लिए। यसैगरी प्याट कुमिन्स र एडम जाम्पाले एक÷एक विकेट हात पारे। पाकिस्तान समूह दुईको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने अस्ट्रेलियाले समूह एकमा दोस्रो स्थान हात पार्दै अन्तिम चारमा स्थान बनाएको हो। यसअघि बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्डले फाइनलमा स्थान बनाइसकेको छ। न्युजिल्यान्ड र अस्ट्रेलियाबीचको उपाधि भिडन्त आइतबार दुबईमै हुनेछ।

न्युजिल्यान्ड टीट्वेन्टी विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। यसअघि सन् २००७ र २०१६ मा न्युजिल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो। सन् २०१० को उपविजेता अस्ट्रेलियाले दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। सन् २०१० को फाइनलमा अस्ट्रेलियालाई इङ्ल्यान्डले सात विकेटले पराजित गरेको थियो।

सन् २००७ बाट सुरु भएको टीट्वेन्टी विश्वकपको यो सातौं संस्करण हो। पहिलो संस्करणको उपाधि भारतले उचालेको थियो भने अहिलेसम्मको सर्वाधिक सफल टोली वेस्ट इन्डिज हो। साविक विजेतासमेत रहेको वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो। “एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*