अनुसन्धान र नवप्रवर्द्धनमा बजेटको ढोका खुल्यो, महावीर पुनको माग सम्बोधन

कोल्हवी न्यूज
२०८३ जेष्ठ १५, शुक्रबार १७:०२ गते

सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्द्धन क्षेत्रमा विशेष बजेट विनियोजन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री Swarnim Wagle ले पूँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान र नवप्रवर्द्धन क्षेत्रमा छुट्याइने जानकारी दिएका हुन्।

सरकारको यो निर्णयलाई वैज्ञानिक तथा आविष्कारक Mahabir Pun ले लामो समयदेखि उठाउँदै आएको मागको सम्बोधनका रूपमा हेरिएको छ। पुनले नेपालमा अनुसन्धान संस्कृति विकास गर्न तथा वैज्ञानिक परियोजनालाई संस्थागत सहयोग उपलब्ध गराउन निश्चित अनुपातमा बजेट छुट्याउनुपर्ने आवाज उठाउँदै आएका थिए।

बजेट वक्तव्यअनुसार सरकारले प्रविधिमैत्री विकास, डिजिटल नवप्रवर्तन तथा वैज्ञानिक अनुसन्धानलाई आर्थिक रूपान्तरणको आधार बनाउने नीति लिएको छ। यसअन्तर्गत सूचना प्रविधि, अनुसन्धान परियोजना, वैज्ञानिक अध्ययन तथा नवप्रवर्तनमा आधारित उद्यमलाई प्रोत्साहन गरिने जनाइएको छ।

अर्थमन्त्री वाग्लेले देशमा वैज्ञानिक सोच, अनुसन्धान संस्कृति र नवप्रवर्तनलाई प्रोत्साहन गर्न राज्यले आवश्यक पूर्वाधार तथा लगानी विस्तारमा जोड दिने बताएका छन्। सरकारले एआई, डिजिटल अनुसन्धान, डेटा प्रविधि तथा स्टार्टअप इकोसिस्टमलाई समेत प्राथमिकतामा राख्दै नयाँ कार्यक्रम ल्याउने संकेत दिएको छ।

विशेषज्ञहरूका अनुसार नेपालमा लामो समयदेखि अनुसन्धान तथा विकास क्षेत्रमा पर्याप्त लगानी अभाव रहँदै आएको थियो। बजेटमा छुट्टै व्यवस्था हुनु सकारात्मक कदम भए पनि यसको प्रभावकारिता कार्यान्वयन, पारदर्शिता तथा अनुसन्धानको वास्तविक उपयोगितामा निर्भर रहने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*