तीनै तहको चुनावसम्मै गठबन्धन हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको चुनावसम्म गठबन्धन गर्ने बताएका छन् । बुधबार डोल्पा सदरमुकाम दुनैमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूलाई समाप्त पार्न लागेका देशभित्र र बाहिरका प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध गठबन्दन गरेरै परास्त गरिएको उनले बताए । अहिले सातवटै प्रदेशमा ओली प्रवृत्ति समाप्त भइसकेको उनको भनाइ छ । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन गरिएको बताउँदै प्रचण्डले निकट रहेको राष्ट्रिय सभाको निर्वाचनमा सबै सिट जितिने दाबी गरे ।
देशभर माओवादी प्रवेश गर्ने लहर चलिरहेकाले अब देश माओवादीमय हुने पनि उनले बताए । अब विभिन्न पार्टीमा विभक्त माओवादी शक्ति र एकीकृत समाजवादी पार्टीबीच पनि एकताको प्रयास भइरहेकाले उनले बताए । २०६४ को संविधान सभा चुनावमा जस्तै अब फेरि माओवादी देशको पहिलो पार्टी बन्ने उनको दाबी छ ।
कर्णाली माओवादीको आधार क्षेत्र भएकाले समाजवाद निर्माणको थलोको रूपमा माओवादी केन्द्रले हेरेको उनले बताए । उनले भने ‘जनयुद्धकालदेखि नै डोल्पालाई देश दुनिया“ले बुझिसकेकाले अब डोल्पाली जनताको नेतृत्व माओवादी केन्द्रले गर्ने संकेत देखिएको छ, उपल्लो डोल्पामा माओवादीप्रतिको धारण धेरै राम्रो पाएका छौँ, अब अघिल्ला चुनावमा जस्तै गुण्डागर्दी गरेर एकछापे लगाएर, बीसपच्चीस लाख रुपैयाँ खर्च गरेर चुनाव जित्ने परिस्थिति हुँदैन ।’ उनले भने ।
राष्ट्रको स्वाधीनता, सामाजिक न्याय, जनताको विकास र राष्ट्रिय एकताका लागि सबै पार्टीलाई एकजुट हुन प्रचण्डले आग्रह गरे । नयाँपत्रिकाडेलीबाट









