हेटौँडा–काठमाडौं यात्रा सहज बनाउन बाघझोरामा अण्डरपास बन्ने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं लाई जोड्ने त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी गाउँपालिका–१ स्थित बाघझोरा खोलामा अण्डरपास निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
परियोजनाको कार्यान्वयन तयारीस्वरूप शुक्रबार भौतिक मन्त्रालय अन्तर्गतका जिम्मेवार अधिकारी तथा प्राविधिक टोलीले निर्माण स्थलको स्थलगत अध्ययन तथा निरीक्षण गरेका हुन् ।
उक्त योजनाका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ । साथै, अब छिट्टै टेण्डर प्रक्रिया समेत अगाडि बढाइने तयारी रहेको बताइएको छ ।
अण्डरपास निर्माण सम्पन्न भएपछि सामान्य वर्षात्को समयमा समेत घण्टौँसम्म हुने सवारी जामको समस्या समाधान हुने विश्वास गरिएको छ । यससँगै यात्रुले भोग्दै आएको सडक सुरक्षासम्बन्धी चुनौती न्यूनीकरण भई हेटौँडा–काठमाडौं यात्रा थप सहज, भरपर्दो र सुरक्षित बन्ने अपेक्षा गरिएको छ ।
वर्षायाममा मकवानपुरसहित यस सडकखण्ड प्रयोग गर्ने हजारौँ यात्रुले लामो समयदेखि सडक अवरोधको समस्या भोग्दै आएका छन् । अण्डरपास निर्माणपछि यातायात व्यवस्थापन, जनजीवन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
योजनालाई अघि बढाउन समन्वय र सक्रिय पहल गर्ने मन्त्रालयका जिम्मेवार अधिकारी, प्राविधिक टोली तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै निर्माण कार्य बिना अवरोध छिट्टै सुरु भई समयमै सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।









