पश्चिम तराईमा अत्यधिक गर्मी, तातो हावा र लहर चल्ने चेतावनी
देशभर वर्षा कम भएपछि गर्मी बढ्दै गएको छ । विशेषगरी पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ ।
मौसम पूर्वानुमान महाशाखा का अनुसार आज र भोलि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा तातो हावा तथा तातो लहर चल्ने सम्भावना रहेको छ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
पछिल्ला केही दिनयता बढ्दो तापक्रमले पश्चिम तराईका नेपालगन्ज, धनगढी र दिपायल लगायत क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् । अधिकांश जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस नजिक वा सोभन्दा माथि पुगेको छ ।
गर्मी बढेसँगै अस्पतालहरूमा बिरामीको चाप पनि बढ्न थालेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले पर्याप्त पानी पिउन, दिउँसो सकेसम्म बाहिरी काम कम गर्न र गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले मुटुको धड्कन असामान्य बढ्ने, श्वासप्रश्वासमा समस्या हुने, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा जान अनुरोध गरेको छ ।









