रौतहटका विभिन्न वन क्षेत्रमा पाटेबाघको बास पुष्टि
रौतहट । रौतहटका विभिन्न वन क्षेत्रमा पाटेबाघको उपस्थिति देखिएको भन्दै यसको संरक्षणमा सबै तह र समुदाय एकजुट हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।
बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साह ले बाघ संरक्षणमा सामूहिक पहल आवश्यक रहेको बताए ।
उनका अनुसार रौतहटका लमाहा नदी क्षेत्र, धन्सार वन, हातेमालो सामुदायिक वन, रङ्गपुर साझेदारी वन, गैँडाटार, जुडिबेला, पौराइ, रामलाल वृन्दावन साझेदारी वन तथा नमस्ते सामुदायिक वन क्षेत्रमा दुर्लभ पाटेबाघको बसोबास रहेको पाइएको छ ।
पाटेबाघ ले मुख्य रूपमा जरायो, चित्तल, बँदेल र बाह्रसिङ्गाजस्ता वन्यजन्तुलाई आहाराका रूपमा प्रयोग गर्ने जानकारी दिँदै साहले नेपालभर हाल बाघको सङ्ख्या ३५५ पुगेको बताए । रौतहटमा पनि बाघ गणनाको काम भइरहेको र केही समयमै यकिन तथ्यांक सार्वजनिक हुने उनको भनाइ छ ।
कार्यक्रममा उनले बाघको स्वभाव, आहार, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे जानकारी दिँदै बाघ सामान्यतया मानिसबाट टाढा बस्न चाहने तर आत्मसुरक्षा वा बच्चा जोगाउन आक्रमण गर्न सक्ने बताए ।
रौतहटमा विगत केही वर्षयता बाघ आक्रमणका घटना पनि भएका छन् । २०७७ साल असोजमा सङ्गम भण्डारी को बाघ आक्रमणबाट मृत्यु भएको थियो । त्यसपछि २०७८ सालमा यज्ञबहादुर रायमाझी घाइते भएका थिए ।









