भारतमा गर्मीको कहर : तेलङ्गानामा ‘लू’ लागेर १६ जनाको मृत्यु
तेलङ्गाना मा अत्यधिक गर्मीका कारण ‘हीटस्ट्रोक’ अर्थात् लू लागेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बढ्दो तापक्रमले जनजीवन प्रभावित बनेको छ ।
The Times of India का अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै चार जनाको ज्यान गएको छ । त्यसैगरी बारंगल अर्बन, करीमनगर र निजामाबादमा तीन–तीन जनाको मृत्यु भएको छ भने जोगुलाम्बा गडवाल, रंगारेड्डी र सूर्यपेटमा एक–एक जनाको ज्यान गएको छ ।
मौसम विभागका अनुसार तेलङ्गानामा तापक्रम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । दिल्ली मा पनि अत्यधिक गर्मी बढेको छ । भारतीय सञ्चारमाध्यमले गर्मीका कारण आकाशबाट चराहरू बेहोस भएर जमिनमा खस्न थालेको उल्लेख गरेका छन् ।
हिजो परेको हल्का वर्षाले केही राहत दिएको भए पनि अधिकारीहरूले सार्वजनिक स्थान र कार्यस्थलमा खानेपानी तथा दूधको व्यवस्था गर्न आग्रह गरेका छन् ।
राजस्थान मा समेत तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि केही स्थानमा विद्यालय बन्द गरिएको छ ।
मौसम विभागले दिल्ली, पञ्जाब, हरियाणा र चण्डीगढ क्षेत्रमा अझै केही दिन तापक्रम बढ्न सक्ने चेतावनी दिएको छ । विज्ञहरूले भारतका धेरै भागमा तातो हावाको लहर अझै केही समय जारी रहने बताएका छन् ।एजेन्सी









