एमालेद्वारा चुनाव समीक्षा र संविधान संशोधनका लागि दुई कार्यदल गठन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले चुनावी समीक्षा तथा पार्टी पुनर्गठनका लागि छुट्टाछुट्टै कार्यदल गठन गरेको छ ।
हिजो बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा को नेतृत्वमा चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गर्ने निर्णय गरेको हो । उक्त कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
त्यसैगरी एमालेले संविधान संशोधनसम्बन्धी आन्तरिक अध्ययनका लागि पनि कार्यदल बनाएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेल को संयोजकत्वमा गठन गरिएको कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्नि खरेल लगायतका नेताहरू सदस्य रहेका छन् ।
सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको वरीयताक्रम पनि टुंगो लगाएको छ । जसअनुसार अध्यक्ष केपी शर्मा ओली पहिलो वरीयतामा रहेका छन् । त्यसपछि रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।
त्यस्तै महासचिवमा शंकर पोखरेल रहेका छन् भने उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ रहेका छन् । सचिव पदमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत रहेका छन् ।









