ओली–विद्या शक्ति संघर्षले एमालेमा तरंग
नेकपा एमालेले पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी को पार्टी सदस्यता पुनः खुला गर्ने निर्णय गरेपछि एमालेभित्र नयाँ शक्ति समीकरणको बहस चुलिएको छ । सदस्यता खुलेसँगै अब उनले पार्टीमा कस्तो भूमिका पाउने हुन् भन्ने चासो नेता–कार्यकर्तादेखि आम राजनीतिक वृत्तसम्म फैलिएको छ ।
एमालेभित्र अध्यक्ष केपी शर्मा ओली को नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको दाबी गर्दै केही नेताहरूले अब पार्टीलाई नयाँ नेतृत्व आवश्यक रहेको बताउन थालेका छन् । उनीहरूको बुझाइमा विद्या भण्डारी अहिले एमालेभित्र सबै पक्षले स्वीकार गर्न सक्ने सम्भावित विकल्पका रूपमा उदाइरहेकी छन् ।
यद्यपि, अध्यक्ष ओली तत्काल नेतृत्व हस्तान्तरण गर्ने मनस्थितिमा नरहेको एमालेकै नेताहरू बताउँछन् । पार्टी सचिवालय बैठकले सदस्यता खुला गर्ने निर्णय गरे पनि भण्डारीलाई दिने जिम्मेवारीबारे औपचारिक छलफल हुन बाँकी छ ।
उपमहासचिव लेखराज भट्ट ले सदस्यता खुला भएपछि नेतृत्वको विषय भविष्यको बहस हुने बताएका छन् भने अर्का उपमहासचिव रघुवीर महासेठ का अनुसार आगामी सचिवालय बैठकमा जिम्मेवारीबारे छलफल हुन सक्छ ।
नयाँ सदस्यता कि पुरानै निरन्तरता ?
एमालेभित्र अहिले अर्को बहस विद्या भण्डारीको सदस्यताको प्रकृतिलाई लिएर पनि छ । राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा उनको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको थियो । त्यसैले अब उनलाई नयाँ सदस्यका रूपमा प्रवेश गराउने कि पुरानै सदस्यताको निरन्तरता मान्ने भन्ने विषयमा मत विभाजित देखिएको छ ।
ओली निकट नेताहरू नयाँ सदस्यता दिनुपर्ने पक्षमा देखिएका छन् । तर उनीहरूले सदस्यता नयाँ भए पनि राजनीतिक योगदान र वरिष्ठताको गणना पुरानै मितिबाट हुने बताएका छन् ।
‘ओलीले अब निकास दिनुपर्छ’ भन्ने दबाब
विद्या भण्डारी पक्षधर नेताहरू भने केवल सदस्यता खुला गरेर मात्र एमालेभित्रको संकट समाधान नहुने निष्कर्षमा पुगेका छन् । उनीहरूको मुख्य माग अध्यक्ष ओलीले मार्गप्रशस्त गर्दै पद छाड्नुपर्ने भन्ने छ ।
एमाले नेता कर्ण थापा ले पनि पार्टी पुनर्गठन र रूपान्तरणका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा सार्वजनिक रूपमा दोहोर्याएका छन् ।
भण्डारी निकट नेताहरूका अनुसार ओलीले पद छाडेपछि मात्रै पार्टीमा नयाँ ऊर्जा आउने र विशेष महाधिवेशन वा नेतृत्व पुनर्संरचनाको बाटो खुल्नेछ । उनीहरूले भविष्यमा विद्या भण्डारीलाई संक्रमणकालीन सहमतिको नेतृत्वका रूपमा अघि सार्ने सम्भावनासमेत देखिरहेका छन् ।
कारबाहीको संकेत ?
एमालेभित्र पुनर्गठन र नेतृत्व परिवर्तनको पक्षमा बोलिरहेका नेताहरूमाथि अनुशासनको डन्डा चल्न सक्ने चर्चा पनि सुरु भएको छ । पार्टीभित्र रूपान्तरणको आवाज उठाइरहेका नेताहरूमाथि कारबाही हुन सक्ने अड्कलबाजी भइरहे पनि त्यसबारे आधिकारिक निर्णय भने सार्वजनिक भएको छैन ।
अध्यक्ष ओलीले हालैको सचिवालय बैठकमा नेताहरूलाई सार्वजनिक अभिव्यक्तिमा संयमता अपनाउन चेतावनी दिएको बताइएको छ । तर अहिलेको परिस्थितिमा ठूला नेतामाथि कारबाही गर्न सहज अवस्था नरहेको एमालेकै नेताहरू स्वीकार गर्छन् ।
सचिवालय बैठकमा के–के एजेन्डा ?
शुक्रबार बस्ने सचिवालय बैठकमा पदाधिकारीहरूको कार्यविभाजन, सदस्यता नवीकरण, सरकारको कामको समीक्षा, संगठन विस्तार, संविधान संशोधन सुझाव कार्यदल गठन, पार्टी कार्यालय निर्माणलगायत विषयमा छलफल हुने तयारी छ ।
यससँगै विद्या भण्डारीको औपचारिक भूमिका र एमालेको भावी नेतृत्वबारे बहस अझ तीव्र हुने संकेत देखिएको छ ।
रासस









