प्रधान न्यायाधीश बनेपछि डा. मनोज शर्मा पर्सावासीका लागि गौरव
डा. मनोजकुमार शर्मा प्रधान न्यायाधीश नियुक्त भएपछि गृहजिल्ला पर्साका बासिन्दाले खुसी व्यक्त गरेका छन् । पर्साबाट पहिलो पटक सर्वोच्च अदालतको नेतृत्व गर्ने अवसर प्राप्त भएपछि जिल्लाभर गर्वको अनुभूति भएको स्थानीयको भनाइ छ ।
वीरगन्ज महानगरपालिका–११ स्थित ओम आश्रममा २०२७ असार ४ गते जन्मिनुभएका शर्मा पर्साबाट प्रधान न्यायाधीश बन्ने पहिलो व्यक्ति हुनुहुन्छ ।
प्रधान न्यायाधीश शर्माका सहपाठी तथा प्रशासकीय अदालत का सदस्य नवलकिशोर यादव ले विद्यालयदेखि प्रवीणता प्रमाणपत्र तहसम्म आफूहरू सँगै अध्ययन गरेको बताउनुभयो ।
शर्माले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेपछि त्रिजुद्ध माध्यमिक विद्यालय मा कक्षा ८ देखि १० सम्म अध्ययन गर्नुभएको थियो । त्यसपछि वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पस बाट आइएल अध्ययन गरी उच्च शिक्षाका लागि काठमाडौं जानुभएको थियो ।
सहपाठी यादवका अनुसार शर्मा कानुन अध्ययनमा विशेष रुचि राख्ने, मिलनसार र सरल स्वभावका व्यक्ति हुनुहुन्थ्यो ।
राजेशमान सिंह ले शर्मा प्रधान न्यायाधीश नियुक्त हुनु वीरगन्ज र समग्र पर्साका लागि गौरवको विषय भएको बताउनुभयो ।
हरिखेतान बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक तथा वरिष्ठ अधिवक्ता दीपकराज भण्डारी ले आफूले पढाएको विद्यार्थी मुलुकको प्रधान न्यायाधीश बनेकोमा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
क्याम्पसका सल्लाहकार प्रकाश खेतान ले शर्माको सफलता अध्ययनशीलता, मेहनत र समर्पणको परिणाम भएको उल्लेख गर्दै अन्य विद्यार्थीका लागि पनि प्रेरणादायी बनेको बताउनुभयो ।









