नेपाललाई ‘ग्रे लिस्ट’बाट निकाल्न सबै शक्ति प्रयोग गर्छौं : अर्थमन्त्री वाग्ले

कोल्हवी न्यूज
२०८३ जेष्ठ ६, बुधबार ०७:११ गते

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानी सूची ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकारले सबै उपाय अवलम्बन गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मंगलबार अर्थ मन्त्रालयमा भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपिजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

अर्थमन्त्रीको सचिवालयका अनुसार एपिजी प्रतिनिधिसँगको भेटमा डा. वाग्लेले सुशासन स्थापना गरेर विकासमा फड्को मार्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै ‘ग्रे लिस्ट’को अवस्था विगत ३० वर्षको कुशासनको परिणाम भएको बताउनुभयो ।

उहाँले नेपाललाई उक्त सूचीबाट बाहिर निकाल्न आवश्यक सुधार तथा नियमित कार्य भइरहेको र त्यसको मूल्याङ्कनसमेत निरन्तर भइरहेको जानकारी दिनुभयो ।

एपिजीका उपकार्यकारी सचिव डेभिड स्यान्नन ले भने नेपालले ‘ग्रे लिस्ट’बाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको बताउनुभएको थियो ।

यसैबीच, एपिजी टोलीले मंगलबार नै नेपाल प्रहरी का प्रहरी महानिरीक्षक दानबहादुर कार्की सँग पनि भेटवार्ता गरेको थियो । प्रहरी प्रधान कार्यालय नक्सालमा भएको भेटमा सम्पत्ति शुद्धीकरण नियन्त्रण, अन्तर्राष्ट्रिय समन्वय तथा सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

एफएटिएफले २०८१ फागुन ९ गते नेपाललाई दुई वर्षका लागि ‘ग्रे लिस्ट’मा राखेको थियो । नेपालले उक्त सूचीबाट बाहिरिन १५ बुँदे आइसिआरजी कार्ययोजना कार्यान्वयन गरिरहेको छ ।

यसैबीच, अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मध्यम वर्ग विस्तार गर्ने नीति ल्याइने जानकारी दिनुभएको छ । सङ्घीय संसद्का दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले नागरिकको आय, सिप र अवसरमा पहुँच बढाएर आर्थिक हैसियत माथि उठाउने लक्ष्य सरकारको रहेको बताउनुभयो ।

उहाँले सरकारको मुख्य प्राथमिकता सुशासन रहेको उल्लेख गर्दै भ्रष्टाचार, ढिलासुस्ती, बिचौलियातन्त्र र संस्थागत दोहन अन्त्यका लागि प्रणाली सुधारका कार्यक्रम बजेटमा समेटिने स्पष्ट पार्नुभयो ।

“यो सरकार खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माणमा केन्द्रित छ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो ।

उहाँले निजी क्षेत्रलाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामार्फत अर्थतन्त्रको प्रमुख चालकका रूपमा अघि बढाइने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*