गर्मीमा किन बढ्छ पाचन समस्या ? यस्ता छन् चिकित्सकका सुझाव

कोल्हवी न्यूज
२०८३ जेष्ठ २, शनिबार १६:०९ गते

गर्मी सुरु भएसँगै पेटसम्बन्धी समस्या बढ्न थालेको भन्दै स्वास्थ्य विज्ञहरूले खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आग्रह गरेका छन्। चिकित्सकहरूका अनुसार यो मौसममा बान्ता हुने, पखाला लाग्ने, एसिडिटी बढ्ने तथा पेटको संक्रमण हुने समस्या उल्लेखनीय रूपमा देखिन थालेको छ।

विशेषज्ञहरूका अनुसार धेरैले यस्ता समस्यालाई सामान्य मौसमी असर मानेर बेवास्ता गर्ने गरे पनि यसको मुख्य कारण पाचन प्रणालीको सन्तुलन बिग्रिनु हो। गर्मीका बेला शरीरमा प्रोबायोटिक्स अर्थात् राम्रो ब्याक्टेरियाको मात्रा घट्न सक्ने भएकाले हानिकारक ब्याक्टेरिया छिट्टै फैलिने र पेटको संक्रमणको जोखिम बढ्ने बताइएको छ।

चिकित्सकहरूका अनुसार बाहिरको खाना बढी खाने बानी, जंक फुडको अत्यधिक सेवन, कम पानी पिउने, पर्याप्त निद्रा नपुग्ने तथा आवश्यकता बिना एन्टिबायोटिक सेवन गर्ने प्रवृत्तिले पेटसम्बन्धी समस्या झन् बढाइरहेको छ। तनाव र अव्यवस्थित जीवनशैलीले पनि आन्द्राको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने उनीहरूको भनाइ छ।

स्वास्थ्य विज्ञहरूले गर्मीमा पर्याप्त पानी पिउन, मोही र कागती पानी सेवन गर्न तथा हल्का र फाइबरयुक्त खाना खान सुझाव दिएका छन्। दहीजस्ता प्रोबायोटिक खाद्य पदार्थ दैनिक आहारमा समावेश गर्न तथा काँक्रो, मूला लगायत मौसमी फलफूल सेवन गर्न पनि चिकित्सकहरूले सल्लाह दिएका छन्। यस्ता खाद्य पदार्थले शरीरलाई शीतल राख्नुका साथै पाचन प्रणाली सन्तुलित राख्न मद्दत गर्ने बताइएको छ।

विशेषज्ञहरूका अनुसार आन्द्राको स्वास्थ्य राम्रो हुनु भनेको केवल पाचन प्रणाली बलियो हुनु मात्र नभई शरीरको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुनु पनि हो। त्यसैले गर्मीयाममा खानपान र दैनिक जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।

स्वास्थ्यकर्मीहरूले समस्या लामो समयसम्म रहिरहेमा वा गम्भीर लक्षण देखिएमा तत्काल चिकित्सकको परामर्श लिन आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*