कटहरियाबाट एकैपटक तीन बालक बेपत्ता,प्रहरीद्वारा तीव्र खोजी

कोल्हवी न्यूज
२०८३ बैशाख ३०, बुधबार १०:३८ गते

रौतहट,रौतहटको कटहरिया बजार क्षेत्र यतिबेला तीनजना विद्यालयका विद्यार्थी अचानक सम्पर्कविहीन भएपछि त्रसित बनेको छ। एउटै विद्यालय र एउटै कक्षामा अध्ययनरत तीन बालक तीन दिनदेखि बेपत्ता भएपछि परिवारसँगै प्रहरी प्रशासन पनि खोजीमा जुटेको छ।

कटहरिया नगरपालिका–५ निवासी सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनार “किरायसिन” का १४ वर्षीय छोरा कुन्दन साह सोनार, तथा भरत दास सरभंगका १२ वर्षीय छोरा पवन कुमार दास सरभंग गत सोमबारदेखि सम्पर्कबिहीन रहेका हुन्।

परिवारका अनुसार तीनैजना विद्यार्थी सोमबार दिउँसो विद्यालयबाट घर फर्किएका थिए। केही समयपछि “बाहिर खेल्न जान्छौँ” भन्दै घरबाट निस्किएका उनीहरू त्यसयता घर नफर्किएको अभिभावकहरूले बताएका छन्।

बालकहरू साँझसम्म सम्पर्कमा नआएपछि परिवारले आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा खोजी थालेका थिए। तर कुनै जानकारी नपाएपछि उनीहरूको फोटोसहित ईलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दर्ता गरिएको थियो।

अभिभावकका अनुसार बेपत्ता भएका मध्ये सकील अन्सारीसँग केही नगद रकम रहेको र उनीहरू भारतको दिल्ली जाने योजना बनाइरहेका थिए भन्ने अपुष्ट जानकारी साथीहरूबाट प्राप्त भएको छ। यद्यपि प्रहरीले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरका अनुसार बालकहरूको तस्वीर र हुलियासहितको विवरण सम्बन्धित सुरक्षा निकायमा पठाइसकिएको छ। नेपालभर प्रहरी परिचालन गरिएको तथा भारतीय प्रहरीसँग समन्वयका लागि प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाउँदै यो अपहरण, भागेर गएको वा अन्य कुनै कारण हो भन्नेबारे तत्काल निष्कर्ष निकाल्न नसकिने जनाएको छ।

यदि कसैले यी बालकहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर १०० वा मोबाइल नम्बर ९८५५०४२०९५ मा तुरुन्त जानकारी दिन प्रहरीले आग्रह गरेको छ।
कटहरिया बजारबाट एकैपटक तीनजना विद्यार्थी हराएको घटना यसअघि नभएको भन्दै स्थानीयवासीसमेत चिन्तित बनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*