आगामी आर्थिक वर्षदेखि करको दर घटाइने सरकारको घोषणा
२०८३ बैशाख २८, सोमबार १७:०४ गते
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षदेखि करको दर घटाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणालीलाई थप व्यवस्थित र व्यवसायमैत्री बनाइने बताएका हुन्।
नीति तथा कार्यक्रममा करको दायरा विस्तार गर्दै करको दर क्रमशः घटाइने उल्लेख गरिएको छ। सरकारले कर प्रशासनलाई प्रविधिमैत्री बनाउने, करदाता मैत्री वातावरण सिर्जना गर्ने तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्यसमेत अघि सारेको छ।
सरकारले उत्पादन, लगानी र रोजगारी अभिवृद्धि गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको जनाएको छ। साथै कर प्रणालीलाई सरल, पारदर्शी र अनुमानयोग्य बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।










