धनुषामा यात्रुबाहक बस पल्टियो, चालकसहित १७ जना घाइते
२०८३ बैशाख २७, आईतवार १६:४४ गते
धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउण्ड नजिक आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्।
काठमाडौँबाट विराटनगरतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा अर्को सवारीलाई उछिन्ने प्रयासका क्रममा अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार दुर्घटनाको समयमा बसमा ३३ जना यात्रु सवार थिए। घाइते सबैलाई उद्धार गरी लालगढस्थित मोडल अस्पतालमा उपचारका लागि लगिएको छ।
प्रहरीका अनुसार तीव्र गतिका कारण बस नियन्त्रण बाहिर गएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।










