“दुधौरा खोलामा अवैध उत्खनन, वन कार्यालयद्वारा जेसीबी र दुई टिपर नियन्त्रणमा”
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोलामा भइरहेको अवैध ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननमाथि वन कार्यालयले कारबाही गरेको छ। अनुगमनका क्रममा एक जेसीबी र दुई वटा टिपर नियन्त्रणमा लिइएको हो।
डिभिजन वन कार्यालय बाराका वन अधिकृत राजेश कुमार साहको नेतृत्वमा खटिएको गस्ती टोलीले बुधबार दिउँसो सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। डिभिजनल वन अधिकृत सुजित कुमार झाले अवैध उत्खनन भइरहेको सूचनाका आधारमा टोली परिचालन गरिएको जानकारी दिए।
नियन्त्रणमा परेका टिपरहरू ना ७ ख ४८२५ र मधेश प्रदेश ०३–००१ क ३०११ नम्बरका रहेका छन्। गस्तीमा सशस्त्र वन रक्षक कमाण्डर नागेन्द्र बैठासहित सुरक्षाकर्मी र वनकर्मीको सहभागिता थियो।
वन कार्यालयका अनुसार ठेक्का पाएको निर्माण व्यवसायीले वन क्षेत्रभित्र नियमविपरीत घाटगद्दी सञ्चालन गर्नुका साथै वातावरणीय अध्ययन प्रतिवेदनविपरीत उत्खनन गरेको पाइएपछि कारबाही गरिएको हो। जथाभावी नदीजन्य पदार्थ उत्खननले वातावरणीय जोखिम बढाएको कार्यालयको भनाइ छ।
डिभिजन वन कार्यालयले नियन्त्रणमा लिइएका सवारीसाधनमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। साथै प्राकृतिक स्रोतको अवैध दोहन रोक्न आगामी दिनमा अनुगमन र गस्तीलाई थप कडा बनाइने पनि कार्यालयले जनाएको छ।









