प्रसौनी गाउँपालिकाद्वारा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन २१ दिने सूचना
बारा/प्रसौनी गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन २१ दिने सूचना जारी गरेको छ। गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै निर्धारित समयभित्र स्वेच्छाले अतिक्रमण हटाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तव द्वारा जारी सूचनामा नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार स्वीकृत “शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची” को बुँदा नम्बर ९२ कार्यान्वयनका लागि अभियान सञ्चालन गरिएको उल्लेख गरिएको छ।
सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गा, सडक, नाला, ऐलानी, पर्ती, पार्क, गौचर, विद्यालय, सार्वजनिक पोखरी, मस्जिद, मोखतम, मदरसा, इदगाह, बजार क्षेत्र, मठमन्दिर, इनार तथा खुला क्षेत्र वरिपरि निर्माण गरिएका टहरा, घर, घेरा लगायतका संरचना हटाउन निर्देशन दिइएको छ।
गाउँपालिकाले सूचना जारी भएको मितिबाट २१ दिनभित्र अतिक्रमण हटाई जग्गा खाली गर्न आग्रह गरेको छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाए गाउँपालिकाले आफैँ हटाउने र त्यसमा लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनीसमेत दिएको छ।









