जितपुरसिमरामा जथाभावी फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना

कोल्हवी न्यूज
२०८३ बैशाख २५, शुक्रबार ०७:१९ गते

जीतपुरसिमरा उपमहानगरपालिका ले वातावरणीय स्वच्छता कायम गर्न जथाभावी फोहोर फाल्ने तथा प्रदूषण फैलाउने व्यक्तिविरुद्ध कडा कारबाही अभियान सुरु गरेको छ। उपमहानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै कानुन उल्लंघन गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरिने जनाएको हो।

फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यविधि २०७९ अनुसार सडक, नाला, चोक, फुटपाथ र नदी–नालामा फोहोर फाल्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

सूचनाअनुसार सामान्य फोहोर जथाभावी फाल्ने व्यक्तिलाई पहिलो पटक ५०० रुपैयाँ जरिवाना गरिनेछ। यदि पुनः गल्ती दोहोरिएमा प्रत्येक पटक जरिवाना रकम दोब्बर हुँदै जाने व्यवस्था गरिएको छ।

यस्तै, सार्वजनिक स्थलमा स्वास्थ्यमा गम्भीर असर पार्ने किसिमका फोहोर फालेमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने उपमहानगरपालिकाले जनाएको छ।

उद्योग तथा स्वास्थ्य संस्थाले हानिकारक फोहोर अव्यवस्थित रूपमा व्यवस्थापन गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना गर्नुका साथै अनुमति रद्दका लागि सिफारिससमेत गरिने उल्लेख गरिएको छ। चुरोट, गुट्खा लगायतका खोल सार्वजनिक स्थानमा फाल्ने व्यक्तिलाई पनि १०० रुपैयाँ जरिवाना तोकिएको छ।

नियम प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगर प्रहरी, अनुगमन टोली तथा वडा कार्यालयलाई सक्रिय बनाइएको उपमहानगरपालिकाले जनाएको छ। “सफा नगर, स्वस्थ नागरिक” नारासहित उपमहानगरले फोहोर तोकिएको स्थान र समयमा मात्र व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गरेको छ।

त्यस्तै, अनुमति बिना सडकमा निर्माण सामग्री राख्ने वा सरसफाइ कार्यमा अवरोध पुर्‍याउने व्यक्तिलाई पनि कडा कारबाही गरिने चेतावनी दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*