संसदीय सुनुवाइ समितिले तय गर्यो कार्यविधि, प्रधानन्यायाधीश सिफारिसपछि प्रक्रिया अघि बढ्ने
सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले बैठक सञ्चालन तथा सुनुवाइसम्बन्धी कार्यविधि तय गरेको छ। बिहीबार बसेको समितिको बैठकले भावी प्रधानन्यायाधीशका रूपमा सिफारिस भएका न्यायाधीश डा. मनोज शर्मा सम्बन्धी सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरेको हो।
संवैधानिक परिषद् ले प्रधानन्यायाधीश पदका लागि डा. शर्माको नाम सिफारिस गरेपछि समितिले औपचारिक पत्र प्राप्त हुनेबित्तिकै संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्ने जनाएको छ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिका रूपमा रहेको सुनुवाइ समितिको पहिलो बैठकले सभापतिमा बोधनारायण श्रेष्ठ लाई चयन गरेको थियो। त्यसपछि बिहीबार पहिलोपटक कार्यसूचीसहित बैठक बसेको हो।
समितिका सदस्यसचिव तुलबहादुर कँडेल ले बैठक र सुनुवाइ कार्यविधि तय भएसँगै अब समितिको काम प्रभावकारी रूपमा अघि बढ्ने बताएका छन्।
सार्वजनिक महत्त्वका संवैधानिक पदहरूमा नियुक्तिका लागि प्रस्ताव गरिएका व्यक्तिको दक्षता, क्षमता र इमानदारिताको परीक्षण गर्ने प्रक्रियालाई संसदीय सुनुवाइ मानिन्छ। यसमार्फत कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी र जवाफदेही बनाउने लोकतान्त्रिक अभ्यासको रूपमा लिइन्छ।
नेपालको संविधानको धारा २९२ को उपधारा (१) अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी तथा राजदूत नियुक्त हुनुअघि संसदीय सुनुवाइ अनिवार्य हुने व्यवस्था छ।









