सामाजिक सुरक्षा कोषको ‘घडेरी कर्जा’ योजनामा सात जनाको आवेदन

कोल्हवी न्यूज
२०८३ बैशाख २५, शुक्रबार ०७:१२ गते

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले सुरु गरेको ‘घडेरी कर्जा’ योजनामा हालसम्म सात जना योगदानकर्ताले ऋणका लागि निवेदन दिएका छन्। कोषमा नियमित रूपमा १८ महिनासम्म योगदान गरेका योगदानकर्ताले घडेरी खरिदका लागि आवेदन दर्ता गराएका हुन्।

सामाजिक सुरक्षा कोष का अनुसार योजनाअन्तर्गत योग्य योगदानकर्ताले आफ्नो योगदानको आधारमा अधिकतम एक करोड ५० लाख रुपैयाँसम्म ऋण प्राप्त गर्न सक्नेछन्। उक्त ऋणमा वार्षिक ६ प्रतिशत ब्याजदर कायम गरिएको छ।

१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव ले योगदानकर्तालाई घडेरी खरिदका लागि ऋण दिने व्यवस्था घोषणा गरेका थिए। कोषले पहिलो पटक यस्तो ‘घडेरी कर्जा’ योजना कार्यान्वयनमा ल्याएको हो।

कोषका प्रवक्ता कृष्ण अधिकारी ले प्राप्त आवेदनहरूमा आवश्यक मापदण्ड पूरा भए वा नभएको परीक्षण भइरहेको जानकारी दिएका छन्। उनका अनुसार नियमित १८ महिनासम्म योगदान गरेका तथा मासिक रूपमा निरन्तर योगदान गरिरहेका योगदानकर्ताले आफ्नो योगदान रकमका आधारमा ऋण पाउनेछन्।

प्रवक्ता अधिकारीका अनुसार आवश्यक मापदण्ड पूरा गर्ने योगदानकर्तालाई प्रक्रिया पूरा भएपछि तत्काल ऋण उपलब्ध गराइनेछ। कोषले योगदानकर्ताको आम्दानी र मासिक किस्ता तिर्न सक्ने क्षमताका आधारमा बढीमा २० वर्षसम्मको अवधिका लागि ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ।

कोषले यसअघि पनि योगदानकर्तामैत्री विभिन्न कर्जा सुविधा सञ्चालन गर्दै आएको छ। हालसम्म योगदानकर्ता विशेष सापटी, घर कर्जा, छोराछोरी शैक्षिक कर्जा तथा सामाजिक कार्य कर्जाअन्तर्गत करिब ३० हजार योगदानकर्ताले नौ अर्ब २८ करोड रुपैयाँ ऋण सुविधा लिइसकेको कोषले जनाएको छ।

त्यसमध्ये सबैभन्दा धेरै योगदानकर्ता विशेष सापटी योजनाअन्तर्गत २९ हजार ७५० जनाले करिब साढे आठ अर्ब रुपैयाँ सापटी लिएको जानकारी कोषले दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*