जारी आठौं बागमती गोल्डकप: सिमराको नवजनजागृति क्लब ५–१ गोलअन्तरले पराजित, चित्लाङ एफसी फाइनलमा
मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा चित्लाङ एफसी, काठमाडौं प्रवेश गरेको छ। बिहीबार सहिद स्मृति रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सिमराको नवजनजागृति क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै चित्लाङले उपाधि यात्रा तय गरेको हो।
चित्लाङको जितमा विदेशी खेलाडी सोलोमन किङ चम्किए। उनले खेलको ४३ औं र ८७ औं मिनेटमा दुई गोल गरे। यस्तै एरोन थापाले ७८ औं र ८१ औं मिनेटमा लगातार दुई गोल थप्दा समीर तामाङले ७९ औं मिनेटमा एक गोल गरे।
नवजनजागृतिका लागि बिक्रम लामाले ८३ औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए।
उत्कृष्ट प्रदर्शन गरेका चित्लाङका सोलोमन किङ ‘प्लेयर अफ दि म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
चित्लाङले प्रतियोगिताको अघिल्लो चरणमा एपीएफ क्लबलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो भने क्वाटरफाइनलमा मछिन्द्र क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।
अब चित्लाङले उपाधिका लागि शनिबार सर्लाहीको बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बागमती युथ क्लबले पहिलो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। साथै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।









