बाराको कोल्हवीमा वन अतिक्रमण र फोहोर व्यवस्थापनमा गम्भीर लापरबाही, १५ दिनभित्र हटाउन निर्देशन

निजगढ नगरपालिका लाई तामागढी डिबिजन वन कार्यालयले दोस्रो पटक पत्र काट्यो
कोल्हवी न्यूज
२०८३ बैशाख १६, बुधबार ११:१२ गते

बारा,कोल्हवी:मधेश प्रदेश सरकार अन्तर्गत वन तथा वातावरण मन्त्रालय, प्रदेश वन निर्देशनालय डिभिजन वन कार्यालय,बाराले निजगढ नगरपालिकालाई वन अतिक्रमण गरी फोहोर व्यवस्थापन गरिएको विषयमा कडा निर्देशन दिएको छ।

कार्यालयद्वारा जारी पत्रअनुसार निजगढ नगरपालिकाले नगरभित्र संकलन गरेको फोहोर (प्लास्टिक,सिसा,कागज,फलाम,हाडखोर तथा मेडिकलजन्य फोहोरसमेत) कोल्हवी क्षेत्र हुँदै राष्ट्रिय वन क्षेत्रमा लगेर व्यवस्थापन गर्दै आएको पाइएको छ।

उक्त कार्यका क्रममा वन क्षेत्रको जमिन अतिक्रमण गर्नुका साथै फोहोरमा पटक–पटक आगो लगाइँदा वन क्षेत्रमा रहेका बोटबिरुवा, नयाँ विरुवा तथा जैविक विविधतामा समेत गम्भीर क्षति पुगेको जनाइएको छ।

पत्रमा उल्लेख भएअनुसार GPS बिन्दुहरू समेत उल्लेख गरी तामागढी क्षेत्रमा पर्ने राष्ट्रिय वनभित्र फोहोर फाल्ने तथा डम्पिङ गर्ने कार्य भइरहेको पुष्टि भएको छ। यसले स्थानीय बस्ती,चुरे क्षेत्र तथा नदी आसपासका क्षेत्रमा वातावरणीय असर मात्र नभई मानव स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पारेको बताइएको छ।

डिभिजन वन कार्यालयले यस्तो कार्य वन ऐन २०७६, वन नियमावली २०७९ तथा वातावरण संरक्षण सम्बन्धी कानुनविपरीत भएको ठहर गर्दै तत्काल रोक लगाउन निर्देशन दिएको छ। साथै, वन क्षेत्रभित्र थुपारिएको फोहोर १५ दिनभित्र हटाई अतिक्रमित क्षेत्र खाली गर्न दोस्रो पटक निजगढ नगरपालिकालाई अनुरोध गरिएको छ।

निर्देशनको अवहेलना गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत पत्रमा दिइएको छ।यस विषयमा डिभिजन वन कार्यालय,कोल्हवी नगरपालिका तथा इलाका प्रहरी कार्यालयलाई समेत जानकारी गराउँदै आवश्यक समन्वय र सहयोगका लागि अनुरोध गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*