नेप्से ७.७३ अंकले बढ्यो, कारोबार रकम भने घट्यो
हप्ताको पहिलो कारोबार दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक आज ७.७३ अंकले बढ्दै २,७९६.४३ विन्दुमा पुगेको छ।
आज जलविद्युत्, लगानी, म्युचुअल फन्ड, अन्य र व्यापार समूहबाहेक अधिकांश समूहमा वृद्धि देखिएको छ। विशेषगरी उत्पादन तथा प्रशोधन समूहको सूचक डेढ प्रतिशतले उकालो लागेको छ।
कुल कारोबारमा १५८ कम्पनीको शेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र सिटी होटलको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। तर बजार बढेको दिन निफ्रा ग्रीन इनर्जी डिबेन्चर २०८८/८९ को शेयर भने सबैभन्दा धेरै १४ प्रतिशतले घटेको छ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ। गत शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३५१ कम्पनीका १ करोड ९ लाख कित्ता शेयर ४ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको छ।









