कांग्रेस संसदीय दलको नेता आङ्देम्बे सर्वसम्मत चयन
नेपाली कांग्रेसले संसदीय दलको नयाँ नेता सर्वसम्मत रूपमा चयन गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई दलको नेतामा अघि सार्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सभापति गगनकुमार थापा को प्रस्तावमा समानुपातिक सांसद आङ्देम्बेलाई नेतृत्व दिने सहमति जुटेको जानकारी महामन्त्री गुरुराज घिमिरे ले दिएका छन्।
यसअघि नेतृत्वका लागि तीन नेताबीच प्रतिस्पर्धा देखिएपछि सहमति खोज्न उपसभापति विश्वप्रकाश शर्मा को संयोजकत्वमा समिति गठन गरिएको थियो। सोही समितिको सिफारिसका आधारमा अन्ततः सर्वसम्मति कायम गरिएको जनाइएको छ।
कांग्रेसले आजै बस्ने संसदीय दलको बैठकमार्फत आङ्देम्बेको नाम औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरेको छ।
विसं २०६४ पछि पहिलो पटक कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन भएको बताइएको छ।










