विवाहको निम्तो बाँड्न आएका युवकको राैतहटमा दुर्घटनामा परि मृत्यु
आफ्नै विवाहको निम्तो बाँड्न नेपाल आएका एक भारतीय युवकको सडक दुर्घटनामा ज्यान गएको दुःखद घटना सार्वजनिक भएको छ। भारतको बिहार राज्य, सीतामढी जिल्लाका २० वर्षीय विशाल महतोको शनिबार राति करिब ११ बजे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
परिवारका अनुसार उनी वैशाख २५ गते तय गरिएको विवाहका लागि आफन्तलाई निम्तो दिन गरुडा नगरपालिका–१ जयनगरतर्फ मोटरसाइकलमा जाँदै थिए। तर, गौर–चपुर सडकखण्डअन्तर्गत निर्माणाधीन कल्भर्टमा खस्दा दुर्घटना भएको हो।
गौर नगरपालिका–६ सबगढा नजिक भएको उक्त दुर्घटनापछि स्थानीयवासीले निर्माण कम्पनीमाथि गम्भीर लापरबाहीको आरोप लगाएका छन्। उनीहरूका अनुसार निर्माणस्थलमा कुनै चेतावनी संकेत, बत्ती वा सुरक्षा घेरा नहुँदा यात्रुहरू जोखिममा परिरहेका छन्।
उक्त सडक गौर–चन्द्रनिगाहपुर खण्डको स्तरोन्नति तथा चार लेन विस्तार योजनाअन्तर्गत निर्माण भइरहेको हो। तर, आवश्यक सुरक्षा मापदण्ड र ट्राफिक व्यवस्थापन प्रभावकारी रूपमा लागू नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।
प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
यो घटनाले निर्माणाधीन सडक क्षेत्रमा सुरक्षाको गम्भीर कमी रहेको तथ्य फेरि उजागर गरेको छ, जसले यस्ता परियोजनामा जिम्मेवारी र सावधानीको आवश्यकता औंल्याएको छ।










