रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि देशभर सुरु हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तारलाई तीव्रता दिने लक्ष्यसहित देशभर जिल्ला अधिवेशन सञ्चालन गर्ने तयारी थालेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वैशाख १५ गतेदेखि अधिवेशन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिँदै अधिवेशनले पार्टीको संगठनात्मक संरचना थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनका अनुसार यस अभियानले तल्लो तहसम्म पार्टीलाई व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, सचिवालयले तय गरेका एजेन्डामाथि विस्तृत छलफलका लागि सोमबार केन्द्रीय समिति बैठक बोलाइएको छ। उक्त बैठकले जिल्ला अधिवेशनको कार्यतालिका तथा आगामी रणनीतिबारे ठोस निर्णय गर्ने जनाइएको छ।










