‘गन्ध प्रदूषण’ स्वास्थ्यका लागि कति खतरनाक?
खराब गन्ध केवल असहज अनुभव मात्र होइन, यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। ‘गन्ध प्रदूषण’ भनेर चिनिने यस्तो समस्या शहरी क्षेत्रमा बढ्दै जाँदा यसको प्रभाव शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा समेत देखिन थालेको छ।
इङ्ल्यान्डको वेस्टबरी शहरकी एक निवृत्त शिक्षिकाले आफ्नो घर नजिकैको फोहोर प्रशोधन केन्द्रबाट आउने दुर्गन्धका कारण सामान्य जीवन नै प्रभावित भएको अनुभव सुनाएकी छन्। उनका अनुसार, झ्यालढोका बन्द गर्दा पनि गन्धबाट बच्न नसकिने अवस्था छ।
वैज्ञानिकहरूका अनुसार, सूँघ्ने क्षमता केवल गन्ध अनुभव गर्ने माध्यम मात्र होइन, यो शरीरको सुरक्षात्मक प्रणालीको हिस्सा हो। क्यारोलिन्स्का इन्स्टिच्युट का प्रोफेसर जोहान लुन्डस्ट्रोम का अनुसार गन्धले वातावरणमा रहेका सम्भावित खतरा पहिचान गर्न मद्दत गर्छ र दिमागले केही मिलिसेकन्डमै त्यसको प्रतिक्रिया दिन्छ।
अध्ययनहरूले देखाउँछन् कि खराब गन्धले टाउको दुख्ने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने र निद्रामा समस्या आउने जस्ता असर निम्त्याउन सक्छ। यसमा ‘वेगस नर्भ’ सक्रिय हुने र त्यसले मतली बढाउने सम्भावना पनि देखिएको छ।
त्यस्तै, मोनेल केमिकल सेन्स सेन्टर की मनोवैज्ञानिक पामेला डाल्टन ले गन्धप्रतिको डर र घृणाले पनि स्वास्थ्यमा पर्ने असर बढाउने बताएकी छन्। उनका अनुसार, जति बढी मानिस गन्धप्रति चिन्तित हुन्छ, त्यति नै बढी त्यसले मानसिक र शारीरिक प्रभाव पार्छ।
लगातार खराब गन्धको सम्पर्कमा रहँदा मानिसहरूले झ्याल बन्द राख्ने, बाहिर ननिस्कने वा सामाजिक गतिविधि घटाउने जस्ता जीवनशैली परिवर्तन गर्न थाल्छन्, जसले दीर्घकालीन स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
अर्कोतर्फ, राम्रो सूँघ्ने क्षमता भने स्वास्थ्यका लागि सकारात्मक मानिन्छ। यसले खानपान, स्मरण शक्ति र भावनात्मक अनुभवमा सुधार ल्याउँछ। तर विश्वका करिब ५ प्रतिशत मानिसहरूमा ‘एनोस्मिया’ (सूँघ्ने क्षमता नहुने अवस्था) देखिन्छ, जसले उनीहरूको जीवनस्तरमा असर पार्न सक्छ।बीबीसीबाट










