विषाक्त मदिराको कहर:मोतिहारीमा ४ जनाको मृत्यु, ७ अस्पतालभर्ना,कतिपयको आँखाको ज्योति गुम्यो
रौतहट:भारत बिहारको मोतिहारी जिल्लामा विषाक्त मदिरा सेवनका कारण चार जनाको ज्यान गएको छ भने सात जना अस्पतालमा उपचाररत छन्। घटनाले क्षेत्रलाई स्तब्ध बनाएको छ।
मदिरा माथि प्रतिबन्ध लागू भएको राज्य भए पनि अवैध रूपमा उत्पादन तथा बिक्री हुने मदिराका कारण यस्ता घटनाहरू दोहोरिइरहेका छन्। स्थानीयका अनुसार मदिरा बन्दीपछि उल्टै सयौं स्थानमा अवैध मदिराको कारोबार बढेको छ।
मोतिहारी जिल्ला प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातले चार जनाको मृत्यु भएको पुष्टि गर्दै सात जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। उनका अनुसार घटनामा संलग्न चौकीदार भरत राय र मुख्य आरोपी नागा रायलाई परिवारका महिलासहित पक्राउ गरिएको छ। साथै, तुरकौलिया क्षेत्रका प्रहरी इन्चार्ज उमाशंकर मांझीलाई निलम्बन गरिएको छ।
मृतकमध्ये स्थानीय युवक चन्दू पनि रहेका छन्, जसको हतारमा अन्त्येष्टि गरिएको बताइएको छ। अस्पतालमा उपचाररत लोहा ठाकुरले मंगलबार राति स्प्रिट मिसिएको मदिरा सेवन गरेको र त्यसपछि स्वास्थ्य बिग्रिएको बताएका छन । उनका अनुसार मदिरा सेवनपछि आँखाको ज्योति समेत गुमेको छ।
मृतकका आफन्तहरूले मदिरा बन्दीपछि अवैध मदिरा कारोबार झन् मौलाएको आरोप लगाएका छन्। उपचारमा संलग्नचिकित्सकहरूले पनि यो विषाक्त मदिराको असर भएको पुष्टि गर्दै कतिपय बिरामीको दृष्टि गुमेको बताएका छन्।
उल्लेखनीय छ, तीन वर्षअघि पनि मोतिहारीमै विषाक्त मदिरा सेवनका कारण ४५ जनाको मृत्यु भएको थियो। बारम्बार यस्ता घटना दोहोरिनु प्रशासनिक कमजोरीमाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ।









