रौतहटमा ऋण माग्दा रगत बग्यो: आमा–छोरीमाथि निर्घात कुटपिट

पशु चौपायामा समेत क्रूर यातना — घटना दबाउन जनप्रतिनिधिको धम्कि
कोल्हवी न्यूज
२०८२ चैत्र ९, सोमबार १५:२७ गते

रौतहट:रौतहटको कटहरिया नगरपालिका–८ पिप्रापोखरियामा सापटीको रकम माग्दा आमा–छोरीमाथि निर्घात कुटपिट गरिएको छ भने घरपालुवा पशु चौपायासमेत क्रूर रूपमा कुटिएको घटना बाहिर आएको छ। घटनालाई दबाउन स्थानीय जनप्रतिनिधिबाट धम्की र दबाब दिइएको आरोपसमेत पीडित पक्षले लगाएको छ।

स्थानीय ४५ वर्षीया भागमणी देवीलाई उनका देवर नाता पर्ने ३५ वर्षीय छोटेलाल यादवले आक्रमण गरेका हुन्। छोटेलालले केही महिनाअघि भागमणीसँग १ लाख २० हजार रुपैयाँ सापटी लिएको बताइएको छ।

आइतबार छोटेलाललाई दिनुपर्ने १० हजार रुपैयाँ भागमणीको ई–सेवामा आएपछि उनी उक्त रकम लिन भागमणीको घर पुगेका थिए। तर भागमणीले आफूले पाउनुपर्ने रकम कटाएर बाँकी १ लाख १० हजार रुपैयाँ दिन आग्रह गरेपछि विवाद उत्कर्षमा पुगेको थियो।

आक्रोशित छोटेलालले बाँसको लाठी प्रयोग गरी भागमणी र उनकी १० वर्षीया छोरी रबिता कुमारीमाथि अन्धाधुन्ध प्रहार गरेका थिए। कुटाइबाट रबिताको देब्रे हात भाँचिएको छ भने भागमणीको हातमा गम्भीर चोट लागेको छ। उनको शरीरका विभिन्न भागमा गहिरा निलडाम देखिएका छन्।

घटनाका क्रममा आक्रमणकारीले भैंसी र बाख्रालाई समेत कुटपिट गरी मर्नासन्न बनाएको आरोप छ।घटनापछि भागमणीका बाबु झगरु यादव तत्कालै पोखरिया पुगेर घाइते आमा–छोरीलाई कटहरिया बजारस्थित निजी अस्पतालमा उपचारका लागि लगेका थिए, जहाँ दुवैको प्लास्टरसहित उपचार भइरहेको छ।

पीडित भागमणी देवीका अनुसार गाउँकै एक जनप्रतिनिधिले उनका श्रीमान् रोहित यादवलाई “उजुरी नगर्नु, गाउँमै मिलाइन्छ” भन्दै धम्क्याएका छन्। उनले यसअघि पनि पटक–पटक कुटपिट हुँदा दबाबकै कारण न्याय पाउन नसकेको बताएकी छन्।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*