ड्रोन आक्रमणमा जोगिए इराकी प्रधानमन्त्री
इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमी ड्रोन आक्रमणबाट जोगिएका छन्। काधिमीका अनुसार बगदादस्थित निवासमा उनीमाथि ड्रोन आक्रमण भएको थियो। यो ड्रोन आक्रमणमा प्रधानमन्त्री ६ जना सुरक्षागार्ड घाइते भएको अधिकारीहरुले बताएका छन्।
प्रधानमन्त्री काधिमीले सबैलाई शान्त र संयम रहन आग्रह गरेका छन्। हालै मात्र इराकमा भएको निर्वाचन हिंसात्मक बन्न पुगेको थियो। उक्त निर्वाचनको इरान र अमेरिका दुवैले विरोध गरेका थिए। सोही घटनाबाट अभिप्रेरित भएर प्रधानमन्त्री काधिमीमाथि आक्रमण भएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
इराकको सुरक्षा स्रोतका अनुसार काधिमीमाथि तीन ओटा ड्रोन आक्रमण गरिएको थियो। यद्यपि दुईओटा ड्रोनलाई भने खसालिएको थियो। अहिलेसम्म यो आक्रमणको जिम्मेवारी भने कसैले पनि लिएको छैन। इराकी सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्वीरमा प्रधानमन्त्री निवासको भवनमा क्षति पुगेको र पार्किङमा राखिएको कारसमेत ध्वस्त भएको देखिएको छ।









