पर्सामा फरार ४७ अभियुक्त पक्राउ, १२ वर्ष बढी कैद बाँकी
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट सजाय तोकिएर फरार रहेका ४७ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
फागुन महिनामा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार ती प्रतिवादीहरूले जम्मा १२ वर्ष ३ महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको थियो।
यसका साथै उनीहरूबाट ३ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ जरिवाना पनि असुल हुन बाँकी रहेको जनाइएको छ।
पक्राउ परेकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानी र जरिवाना असुलका लागि सम्बन्धित कारागारमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता राजु कार्कीका अनुसार फरार अभियुक्त पक्राउ गर्ने अभियानलाई प्राथमिकतामा राखेर निरन्तर सञ्चालन गरिएको छ। आगामी दिनमा पनि यस्तो अभियानलाई अझ सशक्त बनाउने प्रहरीको योजना रहेको छ।










