इलामको पाथीभरा मन्दिरमा तीन वर्षमा ४ करोडभन्दा बढी भेटी, ८८ लाख हिनामिना विवादमा

कोल्हवी न्यूज
२०८२ चैत्र ५, बिहीबार ०६:३० गते

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा पछिल्लो तीन वर्षमा भक्तजनबाट उल्लेखनीय मात्रामा भेटी सङ्कलन भएको छ। नगदतर्फ मात्रै चार करोड ६४ लाख रुपैयाँभन्दा बढी संकलन हुँदा सुन–चाँदी पनि उल्लेख्य मात्रामा भेटिएको छ।

गाउँपालिकाका अनुसार मन्दिरमा चढाइएको सुन, चाँदी र अन्य धातु सामग्री तीन दिन लगाएर एकीकृत गरिएको छ। यस क्रममा ८ तोला १२ आना १ लाल सुन र ३०७ तोला चाँदी फेला परेको छ। प्रक्रिया जनप्रतिनिधि, सुरक्षाकर्मी, प्राविधिक तथा सञ्चारकर्मीको उपस्थितिमा गरिएको जनाइएको छ।

मन्दिरमा नगदसँगै विभिन्न धातुका सामग्री पनि ठूलो परिमाणमा सङ्कलन भएका छन्। जसमा घण्टी, त्रिशूल, दियो, माना–पाथी लगायतका तामा र पित्तलका सामग्रीहरू समावेश छन्।

२०७९ सालदेखि गाउँपालिकाले ऐन बनाएर मन्दिरको स्वामित्व लिँदै व्यवस्थापन सुरु गरेको हो। हाल मन्दिरबाट उठेको रकम गाउँपालिकाको आन्तरिक राजस्वमा जम्मा गरी विकास तथा संरक्षणका कार्यमा खर्च गर्ने गरिएको छ।

तर मन्दिर व्यवस्थापनसँगै पुरानो संस्थाको कार्यकालमा आर्थिक अनियमितता भएको विषय पनि बाहिर आएको छ। छानबिन प्रतिवेदनले करिब ८८ लाख रुपैयाँ बराबरको रकम हिनामिना भएको देखाएको छ। आम्दानी–खर्चको विवरण नमिल्नु, रसिद व्यवस्थापनमा कमजोरी तथा सार्वजनिक खरिद ऐन विपरीत काम भएको उल्लेख गरिएको छ।

यस विषयमा विवाद बढेपछि पुरानो व्यवस्थापन समितिले अदालतमा रिट दायर गरेको थियो। अदालतले थप प्रमाणका आधारमा वास्तविक रकम असुल गर्न आदेश दिएको छ। अहिले जिल्ला प्रशासन कार्यालयको पहलमा पुनः छानबिन प्रक्रिया अघि बढिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*