मकवानपुरमा प्रहरीमाथि आक्रमण : आत्मरक्षामा प्रहरीले चलायो गोली
मकवानपुरको मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण गर्ने तीन जनामध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक जना गोली लागेर घाइते भएका छन्।
बुधबार राति करिब ८:५० बजे सो क्षेत्रमा लागुऔषध सेवन गर्दै झगडा भइरहेको भन्ने सूचना प्राप्त भएपछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले त्यहाँ रहेका व्यक्तिहरूसँग सोधपुछ गर्न थालेपछि उनीहरूले एक्कासी बियरका बोतल, खुकुरी र बन्चरो प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आक्रमणका क्रममा प्रहरी सहायक निरीक्षक तामाङका दुवै हातमा चोट लागेर उनी घाइते भएका छन्।
आक्रमणबाट जोगिन आत्मरक्षाका लागि तामाङले आफ्नो साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली चलाएका थिए। सो क्रममा हेटौंडा उपमहानगरपालिका–१२ हात्तिगौडाका करिब १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ।
घाइते प्रहरी र तितुङ दुवैलाई उपचारका लागि चुरेहिल अस्पताल (CMC) मकवानपुरमा भर्ना गरिएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको थियो। उक्त टोलीले घटनामा संलग्न हेटौंडा–१२ रमनटारका २४ वर्षीय सन्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुवै जना तथा गोली लागेका तितुङ लागुऔषध, ज्यान मार्ने उद्योग र चोरी जस्ता विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।









