पर्सामा सशस्त्र प्रहरी र महिला तस्करबीच घम्साघम्सी, भिडियो सामाजिक सञ्जालमा भाइरल
पर्सा, पकहामैन गाउँपालिका — नेपाल–भारत सीमा क्षेत्र, धोरेमा सशस्त्र प्रहरी र महिला ‘पोके’ तस्करबीच पछिल्लो दिन घम्साघम्सी भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
भाइरल भिडियोमा पुरुष सुरक्षाकर्मी र महिलाबीच धकेलाधकेल हुने दृश्य देखिन्छ। स्थानीयका अनुसार, प्रहरीले नियमविपरीत महिलाहरूमाथि लसारपसार गरेपछि तनाव उत्पन्न भएको हो।
स्थानीयहरूले कानून अनुसार महिलालाई नियन्त्रणमा लिनुपर्ने अवस्था भए महिला प्रहरी प्रयोग गर्नुपर्ने उल्लेख गर्दै पुरुष सुरक्षाकर्मीहरूले महिलासँग घम्साघम्सी गर्नु अस्वीकृत हुने बताए।
संबन्धित महिलाले पनि स्थानीय सञ्चारकर्मीलाई जानकारी दिँदै सीमा क्षेत्रमा लामो समयदेखि सानो परिमाणमा सामान ओसारपसार हुँदै आएको दाबी गरेकी छन्। उनका अनुसार, केही सुरक्षाकर्मीले सहयोग नगरेका कारण प्रहरीले यस्तो व्यवहार गरेको हो।
स्थानीय बासिन्दाहरूले सीमा क्षेत्रमा हुने अवैध तस्करी रोक्नुपर्ने र दुर्व्यवहारमा संलग्न दुबै पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेका छन्। हालसम्म सशस्त्र प्रहरी पर्साले घटनामा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।









