‘७२ घण्टे’ चक्कीको बढ्दो प्रयोग : सुविधा कि स्वास्थ्य जोखिम ?

कोल्हवी न्यूज
२०८२ फाल्गुन १९, मंगलवार १५:१२ गते

पछिल्लो समय आकस्मिक गर्भनिरोधक चक्की ‘७२ घण्टे’ औषधिबारे चासो र जिज्ञासा उल्लेख्य रूपमा बढेको छ। “मैले ७२ घण्टे औषधि खाएँ, यसले के असर गर्छ ?” भन्ने प्रश्न स्त्रीरोग विशेषज्ञहरूकहाँ बारम्बार पुग्ने गरेको छ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. दीजा खनाल का अनुसार धेरै महिलाले यसलाई सजिलो र छिटो समाधानका रूपमा लिने गरेका छन्। तर यो औषधि नियमित गर्भनिरोधक नभई आकस्मिक अवस्थामा मात्र प्रयोग गर्न सिफारिस गरिएको हो।

उनले स्पष्ट पारिन्, “यसमा उच्च मात्रा लेभोनोर्जेस्ट्रेल (सिन्थेटिक प्रोजेस्टिन) हुन्छ, जसले ओभुलेसन रोक्ने, निषेचनमा अवरोध गर्ने र गर्भाशयको भित्री तह पातलो बनाउने काम गर्छ।”

निःसन्तान तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा बस्नेत ले यसलाई ‘फायर एक्सटिङ्गुइशर’ सँग तुलना गर्दै भन्छिन्, “यो आपतकालीन अवस्थामा मात्र प्रयोग गर्नुपर्ने साधन हो, नियमित उपाय होइन।”

देखिन सक्ने असरहरू

विशेषज्ञहरूका अनुसार औषधि सेवनपछि केही अस्थायी साइड इफेक्ट देखिन सक्छन्, जस्तै:

  • महिनावारी अनियमित हुनु

  • थोपा–थोपा रगत देखिनु

  • वाकवाकी वा बान्ता

  • टाउको दुखाइ

  • स्तन दुख्ने

  • तल्लो पेट दुखाइ

कतिपय अवस्थामा डिम्बाशयमा स–साना सिस्ट देखिन सक्छन्, जुन प्रायः अस्थायी हुने बताइएको छ।

तर अत्यधिक रक्तस्राव, असह्य पेट दुखाइ वा लामो समय महिनावारी नआएमा चिकित्सकसँग परामर्श लिन विशेषज्ञहरूले सुझाव दिएका छन्।

स्थायी बाँझोपनको जोखिम ?

विशेषज्ञहरूका अनुसार एक–दुई पटक आकस्मिक रूपमा सेवन गर्दा स्थायी बाँझोपन हुने प्रमाण छैन। तर यसलाई पटक–पटक प्रयोग गर्दा हर्मोनल असन्तुलन भई महिनावारी चक्र प्रभावित हुन सक्छ।

त्यसैले चिकित्सकहरू नियमित गर्भनिरोधका लागि दैनिक पिल, कपर्टी (IUD), नरप्लान्ट वा डिपो इन्जेक्सन जस्ता सुरक्षित विकल्प अपनाउन सुझाव दिन्छन्।

विशेषज्ञहरूको निष्कर्ष स्पष्ट छ— आकस्मिक औषधिलाई बानी नबनाई, स्वास्थ्य अवस्था अनुसार दीर्घकालीन सुरक्षित उपाय रोज्नु नै बुद्धिमानी हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*